३ भाद्र २०८३, बुधबार
Header

अब अनलाइनमै ट्राफिक सचेतना कक्षा, यसरी लिन सकिने सेवा


प्रकाशित: आइतवार, २९ असार २०८२, १६ः५४ बजे
- महानगरखबर

काठमाडौं । अब सवारी नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरी कार्यालय धाएर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । 


ट्राफिक प्रहरीले अनलाइनमार्फत नै सचेतना कक्षा सञ्चालन गर्ने व्यवस्था लागू गरेको हो । 


गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालय, काठमाडौंमा एक कार्यक्रमबीच उक्त कक्षाको शुभारम्भ गरेका छन । 


अबदेखि मापसे, लेन अनुशासन उल्लंघन, रातो बत्ती पार गर्ने वा तीव्र गतिमा सवारी चलाउनेजस्ता मुद्दामा संलग्न व्यक्तिहरूलाई अनिवार्य रूपमा नागरिक एपमार्फत अनलाइन सचेतना कक्षामा सहभागी हुनुपर्नेछ ।


कक्षा कसरी लिने ?


नागरिक एप खोलेर टेक अनलाइन क्लास अप्सनमा गएर टर्म एन्ड कन्डिसन स्वीकृति दिनुपर्छ । त्यसपछि कक्षामा सम्मिलित हुनुहोस भन्ने बटन थिचेपछि भिडियो सहितको कक्षा सुरु हुन्छ ।


सेवाग्राहीले आफ्नो अनुहार देखिने गरी क्यामेरा अन राख्नु पर्नेछ । एआइ प्रणालीमार्फत भिडियोमा अनुहार पहिचान र निगरानी हुनेछ । भिडियो हेरेपछि ६ मध्ये कम्तीमा ३ प्रश्नको सही उत्तर अनिवार्य हुनेछ ।


यदि क्यामेरा एक मिनेटभन्दा बढी बन्द भयो, अनुहार नदेखिएमा वा कम्तीमा तीन सही उत्तर दिन नसकेमा कक्षा स्वतः डिसकनेक्ट हुनेछ । यस्तो अवस्थामा पुनः १२ घण्टापछि मात्रै कक्षामा सहभागी हुन पाइनेछ ।


अन्य विशेषता


सफल कक्षा पूरा गरेपछि टेक अनलाइन क्लास विकल्प हट्नेछ ।


कक्षा दुईपल्टसम्म नपुगेमा भने अनिवार्य रूपमा ट्राफिक कार्यालयमै गएर कक्षा लिनुपर्नेछ ।


यसअघि नै ट्राफिक जरिवाना अनलाइनमार्फत तिर्न मिल्ने व्यवस्था गरिएको थियो ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex