सन् १९७८ मा युनेस्कोले १२ वटा विश्वसम्पदाको सूची प्रकाशित ग¥यो । ती मध्ये एक अफ्रिकी राष्ट्र सेनेगलको इल ड गोरे थियो । इल ड गोरे अर्थात् गोरे दास व्यापारका लागि विश्व प्रसिद्ध रह्यो । यो डकारका १९ जिल्लामध्येको हो । मूल डकार बन्दरगाह भन्दा यो साढे ३ किलोमिटर मात्रको दूरीमा रहेको छ पल्लो पट्टि रहेको टापू हो । यहाँ अहिले पनि दास व्यापारको युगलाई सम्झाउने दासहरू रहने क्वार्टर र दास व्यापारीका भवनहरू रहेका छन् । मानव इतिहासको एक कालो हिस्सालाई सम्झाउने यो स्थललाई मानव जातिले बिर्सन सक्दैन र बिर्सन पनि हुँदैन । युनेस्को लेख्दछ– आन्ध्र महासागरीय दास व्यापारको पीडादायी स्मृतिहरूले डकारको समुद्री किनारबाट साढे ३ किलोमिटर टाढा रहेको यस २८ हेक्टर क्षेत्रफलको यस सानो टापूमा साकार रूप लिएको थियो । उत्तर र दक्षिणको बीचमा केन्द्रिकृत भएर रहेकाले पनि यो टापूको रणनीतिक महत्व रहेको छ । जहाजहरूमा लङ्गर हाली राख्न पनि यो खासाको स्थान हो । त्यसैले यसको नाम गुड रेड भन्ने प¥यो । यसरी १५औँ शताब्दीदेखि विभिन्न युरोपीय राष्ट्रहरूले यसलाई यात्राका क्रममा रोकिने ठाउँ र दास व्यापारका लागि उपयोग गरे । सुदूर भूमिहरूबाट मानव गल्लाहरूले मानिसको व्यापार गर्न थालेदेखि नै यो स्थानमा कब्जा गराउनका लागि युरोपका देशहरूका बीच होडबाजी नै चल्यो । फ्रान्सेली उपनिवेशहरूमा दास प्रथाको अन्त्य हुनुअगाडि सम्म यस टापूमा दासहरूललाई राख्ने एक दर्जन भन्दा बढी घरहरू थिए । गोरेमा भएका ठोस सम्पदाहरूमा किल्लाबन्दी गरिएको एक चट्टानी पठार, हाल संग्रहालयको रूपमा रहेको दासहरूको भवन र फ्रान्सका गभर्नर बस्ने निवास भवन रहेको छ ।
युरोपेलीहरू आउनुभन्दा अगाडि यो टापूमा आदिवासीहरू बसोबास गर्थे । सन् १४५० तिर यहाँ पुर्तगालीहरू आएर पूजास्थान (च्यापल) र चिहान बनाए । सन् १५८८ सम्म यहाँ पुर्तगालीहरूकै आधिपत्य रह्यो, त्यसपछि सन् १६६४ सम्म डच गणतन्त्र (हाल नेदरल्याण्ड) को आधिपत्य रह्यो । यस बीचमा सन् १६२९ मा केही समय पुर्तगालीहरूले नै आधिपत्य जमाएका थिए । सन् १६६४ देखि १६६७ सम्म बेलायतको आधिपत्य रहेको यस टापूमा फ्रान्सको आक्रमण पछि सन् १७५८ सम्म नै फ्रान्सेलीहरूको उपनिवेश बन्यो भने तत्पश्चात् ५ वर्षसम्म पुनः बेलायतीहरूले नै आधिपत्य जमाए । सन् १७६३ मा आफ्नो उपनिवेश फर्काएका फ्रान्सेलीहरूको राज्य सन् १९६० मा सेनेगल स्वतन्त्र नभएसम्म नै कायम भयो । सन् १७७० को दशकमा दास व्यापार ओह्रालो लागे पछि गोरेबाट बदाम, बदामको तेल, गोकुल धुप, हस्तिदन्तको व्यापार हुनथाल्यो । दास व्यापारको बेलाको स्मरण दिलाउन दासहरूको घर यही नै बेला बनेको थियो । भनिन्छ, यस संग्रहालयका प्रमुख बौबाकर जोसेफ दियायेको मानिसहरूलाई आकर्षित गरी कुरा भन्न सक्ने शैलीले पनि यस संग्रहालयले ख्याति पाएको हो । आज यो स्थल एक पर्यटक स्थल बनेको छ ।
सन् १७८९मा शु? भएको फ्रान्सको राज्यक्रान्तिका समयमै सन् १७ ९४ मा दास व्यापारमाथि प्रतिबन्ध लाग्यो । त्यसपछि बेलायतले पनि दास व्यापारमाथि प्रतिबन्ध लगायो । सन् १८७२ मा यहाँ कम्युन स्थापना गरी केही नागरिक अधिकार दियो । मेयर र उपमेयर भए । तर सन् १८५२ मै डकार शहरको निर्माण भए पछि गोरेको चमक हराउँदै गयो । धेरै जनसंख्या राजधानी डकारमै गयो र अन्ततः हाल आएर यो डकारकै एक प्रशासनिक भागको रूपमा रहनपुग्यो ।
गोरेमा रहेको दर्शनीय स्थानहरूमा प्रमुख त दासहरूको घर नै रहेको छ । सन् १७८० देखि सन् १७८४ सम्ममा निकोलस पेपिनले यसको निर्माण गराएका थिए । यहाँको नफर्कनेको ढोका (डोर अफ नो रिटर्न) प्रसिद्ध रहेको छ । यो ढोकाबाट निस्केपछि दासहरू कहिल्यै पनि फर्केर नआउने भएकाले यस ढोकालाई यसो भनिएको हो भनिन्छ । यसो त गोरेको दास व्यापारका सम्बन्धमा कतिपयले बढाइचढाइ गर्ने गरिएको भन्दै विवाद पनि निकालेका छन् । दासहरूको घर बनाउने पेपिन स्वयं दास व्यापारी थिए भन्दै त्यहाँका कोठाहरू दासलाई राखिने ठाउँ भन्दै देखाउने गरिएको छ भने त्यसमै पनि विवाद उठाउनेहरू छन् । गोरेबाट पठाइने दासहरू अमेरिकामा कफी, ऊखु जस्तो खेतीहरूमा पठाइने भूदासहरू थिए भनिन्छ । तर यहाँको दास व्यापारका भयावहताका सम्बन्धमा स्थानीयहरू खुलेरै कुरा गर्छन् । युनेस्कोले पनि यो कुरालाई मान्यता दिएको छ । यसमा विवाद निकाल्ने बुद्धिजीवीहरू पूँजीवाद र अमेरिकाको समर्थनमा निकालिएको जस्तो देखिन्छ ।
सेनेगलको राजधानी डकारको भीडभाडलाई छल्न पनि मानिसहरू अहिले गोरे टापूमा जाने गरेका छन् । यहाँ मोटरबोट वा फेरीबाट पुग्न सकिन्छ । यहाँ बलौटे बाटोको छेउमा पुराना घरहरू र फुल फुल्ने झाँगहरू देख्न सकिन्छ । दासहरूको घरका अतिरिक्त यहाँको किल्ला दर्शनीय छ । पर्यटकहरूका लागि रेस्टुराँ खोलिएका छन् ।
सन् १९९० मा जेलबाट छुटे पछि दक्षिण अफ्रिकाका अश्वेत नेता नेल्सन मण्डेलाले यस गोरे टापूको भ्रमण गरे । त्यस पछि सन् १९९२ मा पोप जोन पल द्वितीयले यहाँ भ्रमण गरे । अमेरिकी राष्ट्रपतिहरू बिल क्लिन्टनले सन् १९९८ मा, जर्ज बुशले सन् २००३ मा र बाराक ओबामाले सन् २०१३ मा गोरे टापूको भ्रमण गरेका थिए । उनीहरू सबैले त्यसबेला अमेरिकाबाट अफ्रिकालाई अन्याय भएको सकारे ।
Categorized in सम्पदा/संस्कृति