काठमाडौं । काठमाडौंको गोंगबुस्थित आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा नगद र सुनचाँदी बरामद गरेको छ ।
मंगलबार साँझ गरिएको छापामारीमा प्रहरीले चार करोड २५ लाख रुपैयाँ नगद, ९ किलो ८३७ ग्राम सुनका गरगहना र ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद गरेको हो ।
रकमको गणना गर्न बैंकबाट मेसिन समेत मगाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी शेखर खनालले जानकारी दिए ।
सो घटनामा संलग्न आरोपमा गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ पक्राउ परेका छन । उनलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
प्रहरीका अनुसार, श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एसएसपी खनालले भने, “सुनका गरगहना धितो राखेर अनुचित लेनदेन गरेको प्रमाण भेटिएको छ । उनी मिटरब्याजी रहेको देखिन्छ ।”
प्रहरीले ठूलो मात्रामा अवैध रकम लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Categorized in समाज