२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरुले पाए नगद पुरस्कार, कसले कति पाए ? 


प्रकाशित: आइतवार, २ असार २०८१, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक प्राप्त खेलाडीहरुलाई सरकारले घोषणा गरेको नगद  तथा पुरस्कार वितरण गरिएको छ । 


आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो १०० दिनको अवसर पारेर उनीहरुलाई पुरस्कार रकम प्रदान गरेका छन ।

 


गत वर्ष असोजमा चीनको हान्झाउमा भएको १९ औं एसियन गेम्समा पदक जितेका खेलाडी, प्रशिक्षक लगायतले पुरस्कार पाएका हुन ।  


एसियन गेम्समा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ सहित सम्मान गरिएको छ भने उनका प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार प्रदान गरिएको छ ।


यस्तै सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई जनही ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजार रुपैयाँ पुरस्कार दिइएको छ ।

 


चौथो पारा तेक्वान्दोकी पलेसा गोवद्र्धनले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । उनका प्रशिक्षक कविराज नेगीले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे । 


यसैगरी, १९ औं एसियनमा ऐतिहासिक कास्य पदक विजेता महिला कबड्डी टिमका १२ खेलाडी, प्रशिक्षक र व्यवस्थापक पनि पुरस्कृत भएका छन ।


खेलाडीले जनही ३ लाख ९० हजार प्राप्त गरे भने प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे ।

 


कार्यक्रममा फागुनमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकप छनोट भएको नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीहरुलाई पनि नगद पुरस्कारले सम्मान गरिएको छ । 


क्रिकेटका १५ खेलाडीले जनही १३ लाख पुरस्कार प्राप्त गरेका हुन । प्रशिक्षक मोन्टी देशाइले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, फिजियो बिक्रम न्यौपाने र टिम व्यवस्थापक सुमनराज कार्कीले१ लाख ९५ हजार रुपैयाँ प्राप्त गरेका छन ।


सो अवसरमा नेपाल क्रिकेट संघका सचिव तथा पुर्व क्रिकेट कप्तान पारस खड्काको पनि उपस्थिती रहेको थियो । 

 


सो अवसरमा मन्त्री श्रेष्ठले आफूले १०० दिनमा गरेको कामको विवरण सिन सार्वजनिक गरे । 


मूलपानीस्थित क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको र कीर्तिपुर क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता भएको र फ्लड लाइट खरिद प्रक्रिया अघि बढाइएको बताएका छन ।

 


दशरथ रंगशालाको मर्मत गरेको मन्त्री श्रेष्ठले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन । 


१० औं राष्ट्रिय खेलकुद आयोजना हुने सुर्खेतमा पूर्वाधार निर्माणलाई तिब्रता दिएको, राष्ट्रिय खेलकुद परिषद र राष्ट्रिय खेल संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको बताए । 


आफू मन्त्री भएयता ४४ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता र ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । 

 


मन्त्री श्रेष्ठको १०० दिनको कार्यप्रगतिको नवौं बुँदामा नेपाल टी–२० विश्वकपमा सहभागिता भएको विषय पनि राखिएको छ । 


कतारका अमिर नेपाल भ्रमणका क्रममा युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको, नेपाल स्काउटको जग्गा संरक्षण र नियमसंगत उपयोग गर्न गृह मन्त्रालयको सहयोगमा शिलबन्दी गरिएको, विद्यालयको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरेको पनि प्रगति विवरणमा राखिएको छ ।

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex