काठमाडौं । अमेरिकामा शुक्रबारदेखि भीषण आँधी आउँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
अमेरिकाका दक्षिणी ६ राज्यमा अचानक आएको आँधीमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको र त्यो आँकडा बढ्न सक्ने अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन ।
आँधीले मिसौरीमा १२, कन्सासमा ८, अर्कन्सासमा ३, मिसिसिपीमा ६, टेक्ससमा ३ र ओक्लाहोमामा १ जनाको मृत्यु भएको छ ।
अमेरिकाले शनिवार यमनमा आक्रमण गरेको छ ।
राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको हो ।
‘हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु। उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
यसले हुथीको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल र ड्रोन प्रणालीहरूलाई निसाना बनाएको न्युयोर्क टाइम्सले जनाएको छ ।
आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन ्। सदामा ६ जनाको मृत्यु भएको हुथीको अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
यस आक्रमणलाई ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति जिम्मेवारी सम्हालेपछिकै ठूलो आक्रमण भनिएको छ । उक्त आक्रमण इरानका लागि चेतावनी समेत रहेको भनिएको छ ।
16 March 2025, Sunday
Categorized in अन्तर्राष्ट्रिय