काठमाडौं । अण्डाको मुल्य लगातार घट्न थालेपछि लेयर्स कुखुरा पालक कृषकहरुको भेलाले नेपाल अण्डा उत्पादक सघंले तोकेको मूल्यभन्दा कममा अण्डा विक्री गर्नु परे अण्डा नष्ट गर्ने जनाएको छ ।
संघले आईतवार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अण्डको मुल्य घट्दै गएमा अण्डा नष्ट गर्ने तर विक्री नगर्ने’ ।
अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्न कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सङ्घले अण्डा व्यापारीले ढुवानी गर्दा हुन जाने नोक्सानी बेहोर्नका लागि विगत एक दशकदेखि अण्डा ढुवानी राहत कोष स्थापना गरी काम गर्दै आएका छन ।
सङ्घले चितवनमा रहेका सदस्यबाट विसं २०६४ देखि बजार प्रवद्र्धन कोषका लागि प्रति पेटी रु एक र अण्डा ढुवानी राहत कोषवापत रु तीन उठाउँदै आएकोमा देशभरबाट नै कोषमा रकम उठाउने निर्णय गरेको छ ।
भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ ।
भेलामा देशभरका ३०० जना कृषक सहभागी भएका थिए । हाल ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु २४० र मध्यमको रु २०० मा बिक्री हुँदै आएको छ ।
सङ्घका केन्द्रिय सचिव मदन पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु २७० पर्न आउँछ । मूल्य एकोहोरो घटेपछि किसानका आपतकालीन भेला डाकिएको पोखरेलले बताए ।
Categorized in बजार