२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अजङ्गका मूर्तिहरूको टापूः रापा नुई 


प्रकाशित: आईतबार, १७ भाद्र २०७५, ०९ः०४ बजे
- महानगरखबर

चिलीको इस्टर आइल्यान्ड वा टापूको स्थानीय नाम नै रापा नुई । रापा नुई भन्नाले त्यहाँको अल्पसंख्यक आदिवासी जनजातिलाई पनि जनाउँछ । यो एक ज्वालामुखीयुक्त टापू हो । रानो काउ र रानो राराकु भन्ने दुई ज्वालामुखीका क्रेटर (पहाडको टुप्पामा ज्वालामुखीको खाडल) रहेका छन् । तर त्यो भन्दा पनि यहाँको भीमकाय मानवमूर्ति नै यस टापूको पहिचान बनेको छ । यस मानव मूर्तिहरू स्थानीय भाषामा मो–आई नामबाट जानिन्छन् । यस्ता विशिष्ट खालको मूर्तिका कारण नै सन् १९९५ मा युनेस्कोले रापा नुईलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । हाल विश्वका चर्चित विश्व सम्पदा सूचीमा यसको नाम आउँछ । एक स्वतन्त्र मत सर्वेक्षणमा ६औँ लोकप्रिय विश्व सम्पदा बनेको छ । सन् १९३५ मा चिली सरकारले रापा नुई राष्ट्रिय निकुञ्ज घोषणा भए पछि सरकारी स्तरबाट यसको संरक्षण हुँदै आएको छ । 


दक्षिण अमेरिकाको नक्सा हेर्ने हो भने पश्चिमतिरको भागमा पेरुभन्दा मुनि (दक्षिण) चिली देश सुरु हुन्छ र काँक्राको चिरा जस्तो दक्षिणतिर तलैसम्म तन्केर रहेको छ ।  दक्षिण अमेरिका महादेशको पश्चिममा रहेको प्रशान्त महासागरमा इस्टर टापू रहेको छ । चिलीको मध्यभागमा रहेको राजधानी सान्टियागोबाट यहाँसम्मको दूरी ३७६६ किलोमिटर रहेको छ । मूलभूमिको समुद्री तटबाट मात्र यसको दूरील३५१२ किलोमिटर छ ।  यति धेरै टाढा रहेको विरान टापूमा पोलिनेसियाई आदिबासीहरू सन् १२०० को आसपास  वा तेह्रौँ शताब्दीमा आएर बसोबास गरेका थिए । सन् १७२२ मा युरोपीयहरू आउन थाले र यो दास व्यापारको बाटोमा पर्ने एक स्थल बन्यो । सन् १८८८ मा चिलीले यस टापूलाई आफ्नो आधिपत्यमा ल्यायो र सन् १९६६ देखि मात्र यहाँका वासिन्दालाई चिलीले नागरिकता प्रदान गर्न थाल्यो । सन् २००७ मा चिलीको संविधानले यसलार्य विशेष क्षेत्र मान्यो र भाल्पाराइसो क्षेत्रको एक कम्युन मान्यो । सन् २०१७ को जनगणनाअनुसार यहाँको जनसंख्या ७७५० रहेको छ, यसमध्ये ४५ प्रतिशतले आफूलाई रापा नुइ आदिवासी भनेर लेखाएका छन् । 


डेभिस टापूको खोजीमा रहेका डच अन्वेषणकर्ता ज्याकोब रोगेभीन यस टापूमा पुगेका थिए । उनी सन् १७२२ को अप्रिल ५ इस्टर चाडका दिन त्यस टापूमा पुगेकाले यो टापूको नाम नै इस्टर टापू भनेर राखियो । स्पेनी भाषामा यसको नाम इसा डे पास्कुवा हो, यसको अर्थ पनि ईस्टर टापू भन्ने नै हुन्छ । पोलिनेसियाई भाषामा चाहिँ रापा नुई भन्नाले ठूलो रापा भन्ने बुझिन्छ । रापा भन्ने अर्कै एक टापू पनि रहेको छ । स्थानीय कथाका आधारमा यस टापूका पहिलो राजा होतु मातुआ हो । 
यहाँको विशेषता भन्नु नै मोआई मूर्तिहरू नै हुन् । यी मूर्तिहरू यहाँका बासिन्दाका पुर्खा हुन् र तिनीहरूलाई नै देवता सरी मानेर मूर्तिहरू कुँदिएका हुन् । यस कुराबाट यहाँका तत्कालीन बासिन्दाहरू पितृलाई नै देवता मान्ने र त्यही पितृले नै जीवन जिउन चाहने आधारहरू प्रदान गर्ने कुरामा विश्वास गर्थे भन्ने कुराको निष्कर्ष निकालिएको छ । यहाँका बस्तीहरू समुद्र किनारमै थिए र धेरै जसो मोआईहरू पनि समुद्र किनारमै स्थापना गरिएका छन् । 


रापा नुई टापूमा रहेका मोआई भनिने बडेमाका मूर्तिहरू सन् यहाँ बस्ती बसेदेखि सन् १६८० भित्रमा बनेको मानिन्छ । कुल ८८७ वटा यस्ता मूर्तिहरूको सूची तयार पारिएको छ । यिनीहरूलाई इस्टर टापूका टाउकाहरू भनेर पनि भनिने गरिएको छ । सबै नै जसो मूर्तिहरू अर्धकदको सालिक अर्थात् टाउको र आधाउधी छातीसम्म रहेका छन् । कुनै कुनै चाहिँ घुँडाले टेकेका र हत्केला पेटमा राखिएका छन् । कुनै कुनै मूर्तिहरू भने माटोले छोपिएर टाउको मात्र देखिने भएका छन् । झण्डै सबै नै जसो अर्थात् ९५ प्रतिशत मूर्तिहरू ज्वालामुखीबाट निस्केको खरानीको ढिक्काका छन् । यसलाई खोपेर मूर्ति बनाउन सजिलो पनि हुन्छ । हाल सुषुप्त अवस्थामा पुगिसकेको रानो राराकु ज्वालामुखी झरेको स्थलबाट यी ल्याइएका देखिन्छ । त्यसबेलाका आदिवासीहरूसँग फलामका छिना थिएन । ढुङ्गाकै छिना प्रयोग गरेर तिनीहरूले ती मूर्ति कुँदेका थिए । 


यहाँ रहेका मोआईहरूमा सबभन्दा ठूलोलाई पारो भन्ने गरिएको छ र यो एउटा डबली जस्तोमा राखिएको छ । यसको तौल ८२ टन रहेको छ । लम्बाइ झण्डै मिटरको छ । धेरै जसो मोआई मूर्तिहरू ढुङ्गा पाइने स्थानमै बनाई तानेर ल्याइएको हो । करिब ५० वटा मोआई मूर्तिहरू आधुनिक कालमा मिलाएर स्थापना गरिएका छन् । अहु तोङ्गाकिरीमा रहेका १५ मूर्तिहरू उत्खनन गर्दा भेटिएका हुन् र सन् १९९० को दशकमा स्थापना गाडेर स्थापना गरिएका हुन् । 


रापा नुईमा  यी मूर्तिहरूलाई छोडेर कुरा गर्ने हो भने आदिवासीहरू बनाएका घरका ढुङ्गे पर्खाल पनि महत्वपूर्ण रहेको छ । आहु बिनापु यस टापूमा रहेको एक पुरातात्विक स्थल हो । बसाल्ट ढुङ्गाहरू काटी बनाइएका पर्खाल कुनै मसला प्रयोग नगरी बनाइएको भए पनि एक ढिक्का देखिन्छन् र दक्षिण अमेरिकी क्षेत्रमा पाइने इन्का सभ्यतामा पाइने पर्खालको जोडा जस्तो देखिन्छ । 


चट्टानमा कुँदिएका चित्रहरू जसलाई पेट्रोग्लिफ भनिन्छ, त्यसका लागि पनि यो टापू प्रसिद्ध छ । यस टापूमा करिब १ हजार स्थानहरूमा रहेका करिब ४ हजार जति ढुङ्गेचित्रहरूको सूचीकरण भएको छ । यहाँका बासिन्दाहरूले विभिन्न प्रकारका ज्यामितीय आकृतिरू जस्तो देखिने लिपि पनि विकास गरेको र काष्ठकलामा पनि उत्कृष्ट रहेको देखिएको छ । 


व्यापक वनविनाश र कृषि पैदावरको कमीका कारण केही समय यहाँ नरभक्षता वा क्यानबलिज्म पनि चलेको केही विद्वान्हरूको भनाइ रहेको छ । चिली सरकारले यस टापूलाई विशेष क्षेत्र घोषित गरेको छ, तर यहाँका जनजातिहरूको जमिन हडपी होटल बनाइएको भनी यहाँका आदिवासीले होटलहरूमा कब्जा जमाई सन् २०१० मा आन्दोलन पनि गरेका थिए । यहाँको जनसंख्यालाई असर नपरोस् भनी हालै यहाँका मेयर पेट्रो एडमन्डस्ले यहाँ आउने पर्यटकहरू बढीमा ३० दिनसम्म मात्र रहने सक्ने नियम ल्याएका छन् । यो ३० दिने नियम चिलीका मूलभूमिका नागरिकहरू समेतलाई लागू हुने उनको भनाइ सार्वजनिक भएको छ । 

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex