१५ चैत्र २०८०, बिहिबार
Header

आजको पत्रिकामाः ‘टुकुचा खानेहरु’ सम्पादकीय


प्रकाशित: शुक्रवार, २० बैशाख २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । नयाँ पत्रिकारले टुकुचा खानेहरु शिर्षकमा सम्पादकीय लेखेका छन ।  


‘उहिले गाउँघरमा एउटा उखान प्रचलित थियो, जसको भैँसी उसको वन, जसका छोरा उसको धन । अब यो छोरावाला हिस्सा त उखानबाट यसै पनि हटाउनुपर्ने हैसियतमा झरिसक्यो । जसको भैँसी उसको वन पनि अब कायम रहेन, वनमा पहिले सरकार लाग्यो, अहिले सामुदायिक वन या आरक्षणले भैँसी चराउन दिँदैन । तर, काठमाडौंमा यतिवेला चर्चामा रहेको सार्वजनिक जमिनको विषयबारे घोत्लियो भनेचाहिँ जोसँग अलिकति कमिसन खुवाउने धन छ र अड्डा, अदालत तथा राजनीतिक दलमा पहुँच छ, जमिन त्यसैको हुने अवस्था विद्यमान रहेको देखाउँछ ।


शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराईको नेतृत्वलाई प्रभावित गर्दै कसरी भूमाफियाले बालुवाटारको जमिन कब्जा ग(यो भन्ने तथ्य हेर्दै जाँदा धन र पहुँच हुनेले कसरी जमिन कब्जा गर्दै गए भन्ने एउटा उदाहरण पेस गरेको छ । बालुवाटार प्रकरणमा नेकपा महासचिवको नियत र भूमिकामाथि नैतिक प्रश्न खडा भएको छ र त्यसको जवाफ स्वयं नेकपाले दिनुपर्ने भएको छ ।


भाटभटेनी सुपरमार्केट सञ्चालक र एनआरएनका नेताहरूको संलग्नताबारे पनि प्रश्न उठेको छ । त्यस क्रममा नेपालको निजामती प्रशासनदेखि अख्तियारसम्मको नेतृत्व कसरी माफियाको चंगुलमा पर्ने गरेका छन् भन्ने उजागर गरेको छ । बालुवाटार प्रकरणसँगै नेपालमा सार्वजनिक जमिनमाथिको लुटखसोटको लामो शृंखला रहेको र खासगरी धन हुने र शक्तिमा हुनेले यसको दुरुपयोगबाट राज्य र जनतालाई ठग्दै आएको संकेत गरेको छ ।


यो सबै राजनीतिक नेतृत्वको संरक्षण, प्रशासनिक उच्च तहको संलग्नता र कानुनको गलत व्याख्या कमिसनखोर व्यापारी र दलालको सञ्जालबीचको साँठगाँठबाट मात्र सम्भव हुने विषय हो, जसले हाम्रो समग्र राज्य संयन्त्र र समाजको मानसिकतालाई समेत भ्रष्ट र अनैतिक बनाइरहेको छ । रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार बालाजुमा सार्वजनिक निजी गुठी रहेका जमिन त्यसरी नै मिचिएको चर्चा चलिरहेको वेला टुकुचा खोलाको समेत समाचार आएको छ, जसको बाटो नै नक्साबाट गायब छ, मानौँ पहिरोमा बग्ने खहरे या चुरेको तल बग्ने नदी हो, जहाँको पानी एक ठाउँ देखिन्छ, फेरि गायब हुन्छ र अलि तल पुगेर देखापर्छ ।


भूमाफियाले प्राकृतिक रूपमा बगिरहेको टुकुचा खोलाको सिमाना मिचेर त्यसमाथि किर्ते जमिन खडा गरी निजी बनाइसकेका रहेछन्


सबैले देखिने गरी टुकुचाको जमिनको भाग नारायणहिटीको पर्खालदेखि कमलादीको प्रज्ञाप्रतिष्ठानको पूर्वी भागसम्म गायब छ । दुनियाँलाई थाहा छ, खोलाको निश्चित बाटो हुन्छ । त्यसले आफ्नो दायाँबायाँ निश्चित क्षेत्रफल ओगटेको हुन्छ । प्राकृतिक रूपले बहनका लागि र वर्षायाममा थपिने बाढीलाई समेत आफैँभित्र समेटेर बग्न पुग्ने क्षेत्रफल निश्चित हुन्छ । तर, काठमाडौंका भूमाफियाले त्यसरी प्राकृतिक रूपमा बगिरहेको खोलाको सिमाना मिचेर, त्यसमाथि किर्ते जमिन खडा गरी कित्ताकाट गरिवरी निजी बनाइसकेका रहेछन् ।


टुकुचा हाम्रो राजनीतिमा थुप्रिएको फोहोरको एउटा बिम्ब हो । टुकुचा आफैँमा नदीबाट ढल बनिसकेको आधुनिक विकासका दुष्परिणामको बिम्ब पनि हो । जब मानिसले टुकुचा मिच्छन् र खान्छन्, त्यससँगै त्यो बिम्ब पनि निल्ने नै हुन् । जब टुकुचा पनि खान थालिन्छ, अनि अभक्ष भन्ने पनि केही रहँदैन । यस्तै सर्वग्रासी भ्रष्टाचारले जेलिएको हाम्रो राजनीति, प्रशासन र बिचौलियाबीचको साँठगाँठ नतोडेसम्म र राजनीतिलाई सङ्लो नबनाएसम्म हाम्रा सबै समृद्धि र उन्नतिका गफको बेलुन फुटिरहनेछन् । ’

 

भूमाफियाले सानोठिमीस्थित मनोहरा नदीको करिब ५० रोपनी जग्गा कब्जामा पारेको छ । 


भूमाफियाहरुले व्यक्तिकानाममा  ती जग्गा रजिस्ट्रेसन पास गराएको तथ्य आजको कान्तिपुर दैनिकले सार्वजनिक गरेको छ । 


करिब ३५ वर्षअघि नदीले बहाव परिवर्तन गरेपछि खाली रहेको जग्गा व्यक्तिका नाममा कायम गरेको छ । 


सो जग्गा फिर्ताका लागि सांसद महेश बस्नेतले भूमिसुधार मन्त्री पद्यमा अर्यालाई भटेर पहल गरिरहेको छ । 


त्यसैगरी आजको नयाँ पत्रिकाले काभ्रेमा एक युवकमा भेटिएको बर्डफ्लुले ज्यान गएको समाचार प्राथमिकता साथ प्रकाशित गरेको छ ।


सो समाचार आजको सबै राष्ट्रिय दैनिकहरुमा पनि प्रकाशित भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD