काठमाडौँ । काठमाडौं महानगरभित्रका अस्पतालहरुमा उपचार गर्ने आउने विरामी मध्ये सबैभन्दा मधुमेह (डायविटिज) रोगी भेटिएको छ ।
महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी सुरु भएको तालिममा यो तथ्यांक बाहिर आएको हो ।
तथ्यांक अनुसार महानगरपालिका भित्रका अस्पतालहरु (सरकारी, सामुदायिक, निजी), स्वास्थ्य केन्द्रहरुमा गएको ६ महिनाभित्र उपचारका लागि गएका विरामीहरुको संख्या हेर्दा सबैभन्दा धेरै मधुमेह (२१ हजार ४३५ जना) का विरामी देखिएको छ ।
हाइपरटेन्सन (१९ हजार ६९२ जना), श्वासप्रश्वास सम्बन्धी (११ हजार २११ जना) रहेको छ ।
दाँत सम्बन्धी १० हजार १ सय जना, आँखा सम्बन्धी (रिफ्राक्टिभ इरर) १० हजार २६ जना, दाँत दुख्ने विरामी ९ हजार २ जना, ज्वरो आउने ८ हजार २४ जना, पेट सम्बन्धी समस्या भएका ७ हजार ५१५ जना, युरिनरी ट्र्याकको इन्फेक्सन भएका ६ हजार २०७ जना विरामीले उपचार लिएका छन ।
यो तथ्यांक डिष्ट्रिक्ट हेल्थ इन्फरमेसन सिस्टम (डीएचआइएस) मा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ओपीडी सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाबाट गरिएको हो ।
स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले यस्ता समस्या समाधानका लागि औषधिको मात्रासँगै स्वस्थ्यकर जीवन र खानपानका लागि परामर्श आवश्यक पर्ने बताईन ।
यसकारण विरामीको जाँच गर्ने र औषधि प्रदान गर्नेहरुका लागि तालिम आयोजना गरिएको उनको भनाई छ ।
उक्त ४ दिने तालिम महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि तालिम आयोजना गरिएको हो ।
अहिले विश्वमा नसर्ने खाल रोगले जनस्वास्थ्यमा महामारीको रुप लिँदै गएको छ ।
गएको बर्षको अङ्क हेर्दा काठमाडौँ महानगरपालिका अस्पतालहरुमा उपचारका लागि गएका २ लाख ९७ हजार ९०९ जना नसर्ने खालको रोगसँग सम्बन्धित थिए ।
नेपालमा सन २००२ बाट यस प्रकारका समस्याको कुरा गर्न थालिएको हो ।
विश्वमा वर्षेनी करिब ४ करोड १० लाख जना मानिसको मृत्युको कारण यस्तै खालका नसर्ने रोगहरु भएको, तालिमका प्रशिक्षक डा. सुलभ आचार्यको भनाइ छ ।
Categorized in स्वास्थ्य