काठमाडौं । बजारमा तयारी चाउचाउको गुणस्तरमा कमी भेटिएपछि काठमाडौं महानगरले चौधरी ग्रुपलाई २ लाख जरिवाना तोकेको छ ।
महानगरले वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते जफत गरेको चाउचाउको गुणस्तर चेकजाच गर्ने क्रममा कम गुणस्तरको देखिएको भन्दै बुधवार(हिजो) जरिवाना तोकेको हो । जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।
कृषि तथा पशुपन्छी विभागले गरेको बजार अनुगमनको क्रममा जफत गरेको उक्त चाउचाउको परीक्षणका लागि प्रयोगशालामा पठाइएपछि खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन बुझाएपछि जरिवना तोकिएको हो ।
विभागले २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएको थियोे ।
परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो ।
चाउचाउको विक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले उक्त व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता गरेको छ ।
Categorized in बजार